समीक्षा – घामका पाइलाहरु
–ध.च.गोतामे
अतीत वर्तमान सँग सर्वथा असम्बद्ध हुँदैन तापनि सम्पूर्ण रूपमा देखिन पनि सक्तैन । अभिलेख, अवशेष, कलाकृति, जनश्रुति आदिले कुनै स्थान विशेष की इतिहास जान्ने उत्सुकता दिइरहेका हुन्छन् । ‘घामका पाइलाहरू’ लाई पनि त्यस्तै उत्सुकताको परिणाम मान्न सकिन्छ । नेपालको एउटा प्रमुख शहर को चार-पाँच दशक अधिक जीवन का केही क्षणहरूलाई यसमा राम्रोसँग देख्न सकिन्छ। ऐतिहासिक अनुहार लिएको यस उपन्यास के लेखक ध. च. गोतामे साहित्यिक क्षेत्रमा नौलो हुनुहुन्न । जुन शहरको कथा भन्नुभएको छ त्यसको नाम उल्लेख नगरेर पनि लक्षणहरूले नै वर्णित शहर त्यही हो भनेर पाठकको मनलाई निश्चित पार्न उहाँ सफल हुनुभएको छ । त्यस बेलाको त्यहाँको जनजीवनका झलकहरू प्रस्तुत गर्दा स्थानीय व्यवहार र भाषाको संयोजनले मीठो लाई मीठो र मीठो लाई अति मीठो पारिदिएको छ।
तत्कालीन समयको सामाजिक अवस्था,भाषा,भेषभुषा,रहनसहन र दैनिकीको झझल्को दर्शाउने पुस्तक घामका पाइलाहरु का लेखक ध.च. गोतामे हुन। खासमा यश पुस्तकका लेखक दुई दाजुभाईहरु धनुसचन्द्र गौतम र धुर्वचन्द्र गौतम हुन। ध.च. गोतामेको जन्म महोत्तरी जिल्लाको मनहराकट्टि गाउँमा पिता गोविन्द चन्द्र गौतम र माता दिपवतीदेवि को कोखबाट बि.सं. १९८९ सालमा भएको थियो।
यस पुस्तकमा लेखकले तत्कालिन समाजको विशेषगरि मधेशको रुपरेखालाई छर्लङ्ग पारिदिएका छन। त्यो समयको बिरगंजको वर्णन गर्नको लागि लेखकले थुप्रै पाहुना पात्रहरुलाई निकै सहज ढङ्गले कथाअनुसार चलायमान बनाएका छन। त्यस्ता पाहुनाहरुमा रेलवे व्यवस्थापनमा ईन्जिनियर अमलेन्दु भट्टाचार्य, उपत्यकाबाट जागिरको क्रममा मधेश झरेका डाक्टर र उनकी पत्नी, स्टेसन मास्टर श्रीवात्सव, सबैलाई हसाउनमा माहिर अनि मान्छेको अनुहार टाढैबाट हेरेर पान खाने नखाने मेसो पाउने गणेशी, देवशमस्सेर पदच्युत भएसङ्गै सबैकुरा हरण भएका दुर्गानाथ पण्डित बाजे, उनका छोरा पिताम्बर, पिताम्बरका छोरा पवन, पवनकी आमा, सानैमा आमा गुमाएकी अमलेन्दु भट्टाचार्यकि छोरी अणु, रेलवेको सम्भावित उत्तराधिकारीको छाप पारिरहेको रमानाथ कथाको मुख्या पात्रका रुपमा देखिन्छन । यस्तै आफ्नो पार्टीको निर्णयानुसार भारतबाट नेपाल छिरेर भुमिगत भएका स्वतन्त्रता संग्राममा भाग लिएका स्वतन्त्र सेनानी द्वारिकालाई पनि यस पुस्तकका प्रमुख पाहुनाभित्रै मान्न सकिन्छ। लेखकले पात्रहरुको यति व्यवस्थित समीकरण बनाएका छन कि, उक्त समीकरणले तत्कालिन मधेसको सम्पुर्ण चित्रण बुझ्न चाहने जोकोहिलाई पनि निकै सहज र पारदर्शी बनाईदिएको छ।
घामका पाइलाहरु नेपालको पहिलो रेलमार्गमा आधारित छ। नेपाल गभर्मेन्ट रेलवे(Nepal Government Railway) नेपालको पहिलो रेलमार्ग थियो। अमलेखगन्ज र रक्सौल जोड्ने ४७ किलोमिटर लामो यो रेलवे चन्द्र शमशेरको कालमा वि.सं.१९८४ अर्थात सन 1927 मा स्थापना भएको थियो र २०३१ सालमा बन्द भयो। सन 1956 मा त्रिभुवन राजमार्गको निर्माण नहुदासम्म अमलेखगन्ज-रक्सौल रेलमार्ग काठमान्डौ र भारतलाई जोड्ने एकमात्र अप्रत्यक्ष बाटो थियो र मानिसहरु काठमान्डौबाट पहाडै पहाडको बाटो हिडेर चुरेको फेदिमा पुग्थे अनि रेल चढेर भारत जाने गर्थे।
उनले त्यबेलाको मधेसलाई यसरी वर्णन गरेका छन, “यो बस्ती शहर र गाउँको दोसाँधमा झुन्डिरहेको बस्ती हो । यसमा गाउँ छाड्ने छटपटी र शहर ओढ्ने तीव्र आकाङ्क्षा छ, जसबाट यहाँ न गाउँ विलाएको थाहा पाइन्छ, न शहर उदाएको भान हुन्छ । गाउँ र शहर दुवैको तत्त्व यहाँ छयासमिस भएकोले गाउँबाट आउनेले यसलाई शहर र शहरबाट आउनेले यसलाई गाउँ भन्दछन्।”
तत्कालिन समाजमा रहेको देखावटीपन लाई उनी यसरी व्याख्या गर्दछन, पैसा नतिरी रामलीला हेर्यो भने धर्म कमाउन सकिन्न भन्ने धारणा नगरवासीहरूमा प्रचलित भएकोले ती घरवाट हिँड्दा कमसेकम एक पैसा भए पनि डँडालोमा घुसारेर हिँड्छन् र आरतीको थालमा आफ्नो सहदर्शकले सुन्ने गरी अली माथिबाट खसाउँछन् ।
पुस्तकको अर्को मीठो पाटो भनेको पवन र उसको हजुरबुवा बिचको स्नेहले भरिपुर्ण सम्बन्ध हो। पवनले आफ्नो सिकाईको सम्पुर्ण श्रेय हजुरबुवालाई दिन्छ भने दमले थिलिएका हजुरबुवा आफ्नो नातीलाई आफू अस्ताउन आट्दै गर्दा एउटा कोपिला फुल्दै गरेको हेर्न पाउँदा निकै सन्तुष्ट देखिन्छन। लेखकले नेपाली समाजमा महिलाहरु चुलोचौकोमै गुमनान भएको कुरा नि उठाएका छन, उनले भनेका छन, चन्द्रशमशेरले कानुन बनाएपछी पनि हाम्रो देशमा सतीप्रथाको भको छैन। ती अघि चितामा आत्मदाह गर्थे, अब भान्सामा आत्महत्या गर्न थालेका छन। त्यस बेला महिलाहरु भान्सामै हराउनु परेको कुरा त छदैछ, उनिहरु आफ्नो जिवनसाथी पनि अर्काकै भरमा रोज्नुपर्ने त्यस बेलाको अवस्थालाई पुस्तकको अन्तिमतिर महिलाहरु पुजामा भेट हुदा गरेको वार्तालापबाट पोखेका छन।
त्यस्तै लेखकले पवन र अणुको आत्मिय, कन्जन सम्बन्धलाई पनि निकै ध्यानमा राखेर काल्पनिक कलात्मकताले कुदेका छन। सानैमा आमा गुमाएकी, हुर्किदै गर्दा आफ्नै बाबुको प्रशस्त समय नपाएकी अणु, कसरी पवनलाई भेट्नासाथ आफ्नो मानसिकता नै बदलेकी छिन र पवनले पनि पारिवारिक अभावका बिच कैयौ घामपानी सहेर जिवनको कटु यथार्थ अङ्कमाल गर्दै आफ्नो जीवन कसरी अगाडि बढाएको छ भन्ने कुरालाई निकै सुन्दर ढङ्गबाट प्रस्ट्याएका छन।
घामका पाइला पुस्तकमा लेखिएका केही वाक्य अनि कथनहरु मैले जस्ताको जस्तै क्रमवद्द बनाएर लेखेको छु ।
१) “यी सबै तेरा झझल्काहरू हुन् । मानिस जति आत्मीय भयो उति टाढासम्म झझल्कोले पछ्याइरहन्छ । पछि सम्झना मात्र शेष रहन्छ । अनि समयले सम्झनाको आलो घाउहरूमा खाटा बसाल्दै लैजान्छ ।” आमा पवनलाई सामान्य तुल्याउन आश्वस्त पार्दछिन् ।
२) गणेशीले हात जोरेर भन्छ- “म गरीब पान-पात बेचेर गुजान गर्ने मानिसले, जो सधैं हातमुख जोर्ने ध्याउन्नाले दगुरिरहेको हुन्छ, यस्तो सुझबुझले गांजो का कुरा कसरी बुझ्ने। तर मेरो विचारमा यहाँ बस्नेजति सबैले आ- आफ्नो बुद्धिको भाँडो थापेका छन् । त्यसमा कसैले थोरै पाए होलान् कसैले धेरै । जसरी बाक्लो पानी पर्न थाल्दा कसैले गोडमेल गरेर विशाल खेत तयार पार्छ कसैले करेसाको बारी । केही नभएकोले गाग्री, लोटा र कचौरासमेत थाप्दछन् । सबै ले आफू त भएको पात्र अनुसार पानी पाउँछन् । थोरै पानी पाएको र धेरै, पाएकोमा जसरी बादललाई दोष दिन सकिन्न त्यस्तै कसैले थोरै बुझ्ने सकेकोमा पण्डित बाजेको के दोष ?” गणेशी हात जोरेर उभिरहन्छ ।
३) मानव-आत्मा मुक्ति को लागि सदैव छटपटिइरहेको हुन्छ । मुक्ति लागि सबभन्दा ठूलो बाधक भय हो। भयउपर विजय पाउनु नै मुक्तिको बाटो पहिल्याउनु हो । भय धेरै किसिमका हुन्छन् । तर मृत्युबोध नै यस्तो भय हो जो शाश्वत छ । मानिसलाई होश पाएदेखि आफ्नो जीवन लीला समाप्त नभएसम्मयस त्रासको छायाले निरन्तर पछ्याइरहन्छ । “मृत्युपत्र विजय पाउन सकिन्न तर मृत्युको भयलाई जित्न नसकिने होइन । मृत्युको अपरिहार्यता नै यसको दिगो भएको कारण हो । महापुरुषहरूले दिएर गएका शिक्षा, आप्त-वचन र दार्शनिक सूक्तिहरू हेर्ने हो भने ती सबै यही यथार्थमा आधारित छन् । आवागमन को बन्धनबाट मुक्ति, मोक्ष, महापरिनिर्वाण आदि धार्मिक वा दार्शनिक तानाबानाको गहिरो तहमा नियालेर हेयो भने तिनमा पनि त्यही तथ्य, प्रचारकहरूका आ-आफ्ना धर्मदर्शनको अनुरूप घुमाउरो किसिमबाट प्रकारान्तरले व्यक्त भएको पाइन्छ । सर्वग्रासी मृत्युको चिन्ता र त्रास वाट त्राण पाउनु ।
४) कुनै कलिलो बालकउपर पानीको अविरल धारा ओइराएपछि त्यो निसासिन्छ र कहालिन्छ पनि । तपाईंहरूको ममता र स्नेहले मलाई पनि त्यही कहाली लाग्न थालेको छ, स्नेह त्यति मात्र दिनुस् जसलाई म साँच्न सकु।
५)मेरो पिताजी यौटा कथा सुनाउनुहुन्थ्यो । कथा हो पहाड़ तिर गहुँ माल मत्ता लिएर टोपी झर्ने ठाडो उकालो उक्लिँदा भरियाहरू आफूले बोकेको झिटीमाथि अझ एक ठूलो ढुङ्गा थप्छन् रे । अनि केही माथि उक्लिसकेपछि त्यो ढुङ्गा फालेर हाँस्दै-खेल्दै उकालो काट्छन् अरे।”
६) “गरम-शीतल सब मनभित्रै हुँदो रहेछ । अब गर्मी लागे पनि शरीरबाहिर छाला मात्र पोल्छ, मन पोल्दैन ।
७) भावुकताको आवेगमा अनेक निर्णयहरू गरे तर त्यसलाई दैनिक क्रियाकलापमा उतार्न निकै कठिन हुन्छ
८) कविता लाई रुकता र कोमलतासित मात्र सम्बन्ध गरेर हेरिन्छ तर त्यसको व्यापकताको विचार गर्ने हो भने कविता मानिसको जीवन दर्शन हो
९) हात काटिएर गैसके पनि ढूंढो मानिसको अदृश्य हत्केला चिलाइरहन्छ ।
१०) पीताम्बर हास्न छन्- “मैले कुनै झगडा गरिन । सेठले अनियमित काममा मलाई अंशियार तुल्याउन खोजेको थियो । म त्यसमा सहमत हुन सकिनँ । सेठसित मेरो कुनै झगडा भएको होइन । धन आर्जन गर्ने बारे उसको र मेरो मान्यतामा फरक हुन गयो, त्यसैले गर्दा फाटो आयो । जुन नैतिक परम्परागत रूपमा, बाबुबाजेका पालादेखि धरौटी राखेजस्तै संरक्षण गर्दै आएका छौं त्यसले हामीलाई जथाभावी गरेर स्वार्थ साधन गर्ने दिशातर्फ जान दिँदैन । मूल्य हामीले सेठ लाई धन कमाउने लिप्साको मात लागेको छ। ऊ हतारहतार लाखौ र त्यसपछि करोडौँ रुपैयाँ आर्जन गर्न चाहन्छ । न्याय र अन्यायको उसलाई कुनै भाँति चैन । मेरा पिता सदैव न्यायका पक्षधर रहिआएका छन्, त्यसैले गर्दा उनलाई बुढेसकालमा दुःख भोग गर्नुपर्यो । म अनैतिक काम गरेर आफ्ना न्यायमूर्ति पिता का अन्तिम बेलामा उनको निखर आत्मालाई आघात पुर्याउन चाहन्न ।”
११) पीताम्बरलाई आफूमाथि क्षोभ भएर आयो । केवल ईमानदारीको तुरुप देखाएर सबैउपर आफ्नो उच्च नैतिकताको प्रभाव पार्ने मिथ्या स्वाभिमानले सधै रन्थनिएर रहने कहाँको सामाजिकता हो?
१२) पवन मनमनै खिन्न भयो। बाजेले पनि निराश भएर भन्नु भयो स्वाभिमान प्रत्येक मानिस मा हुनुपर्ने गुण हो, तर अभिमान र स्वाभिमान को साँध छुट्याउने एक ज्यादै झीनू रेखा हुन्छ, जसलाई मानिसहरू अज्ञानले गर्दा निरन्तर अतिक्रमण गरिरहेका हुन्छन् । तेरो बाबुको पनि यही अवस्था छ । विद्यादानको लागि छोरालाई छेकारो काट्नु कसरी स्वाभिमान होला ? त्यो त अभिमान वा घमन्ड मात्र हो।”
१३) “जहाँ सूकै जाऊ डाक्टर, तिम्रो स्वभाव बुई चढेर तिमीसितै जान्छ । योहन्डर अन्यत्र पाउँदैनौ भन्ने भरोसा कसरी लिन सक्छौ । तसर्थ तिमीले स्थानको सट्टा आफ्नो स्वभाव में परिवर्तन ल्याउनु बेस हुन्छ ।” अमलेन्दु भट्टाचार्य आँखा चिम्लन्छन्।
१४) अभावग्रस्त मानिसले कसैउपर स्नेह र सहानुभूति देखाउनु चुहुँदो झरीमा धुजाधुजा भएको छाता ओढाउनुजस्तै हो ।
१५) हाकिमको अगाडि र घोडाको पछाडि कहिल्यै नजानू ।
१६)”मेरो जीवन उद्येश्य रहित र दिशाहीन छ। मलाई आफै थाहा छैन म निरन्तर आफ्नो दीर्घ रोगसित केको लागि द्वन्द गर्दै एकमुठी सास धानिरहने रहर गरिरहेछु। अब कति दिन शेष छ र? तर पनि किन हो जीवन चुरोटको अन्तिम सर्कोझै झन् झन् स्वादिलो हुँदै जान्छ, धुवाँको अन्तिम शेष रहेसम्म तानिरहेजस्तो।””प्रत्येक व्यक्ति अपठित वा निरक्षर भएँ तापनि त्यो आफ्नो स्तरमा एक सानोतिनो दार्शनिक हुन्छ।”
१७)”जसरी बाक्लो पानी पर्न थाल्दा कसैले गोडमेल गरेर विशाल खेत तयार पार्छ कसैले करेशाको बारी। केही नभएकोले गाग्री, लोटा र कचौरा समेत थाप्दछन्। सबैले आफूसित भएको पात्र अनुसार पानी पाउँछन्। थोरै पानी पाएको र धेरै पाएकोमा जसरी बादललाई दोष दिन सकिन्न त्यस्तै कसैले थोरै बुझ्न सकेकोमा पण्डित बाजेको के दोष?”
१८)”भारी दुवैतिर बाँडेर बोक्नु अनि बहन गर्न समर्थ होइन्छ। एक कुममा आफ्नो परिवारको र अर्को कुममा देश र समाजको भारी बोक्नु।”
१९)”माताले शिशुलाई भरपूर दूध ख्वाउन नपाएर जसरी स्तन गानिएर आउँछ र पीडा हुन्छ त्यस्तै पीडा तँलाई छाडेर जाँदा ममा हुनेछ, किनभने आफूभित्र भएको सम्पूर्ण स्नेह त ऊपर पोख्न पाइन। त्यो रित्ताउन पाएको भए म हलुङ्गो भएर जान सक्ने थिए।”
कुनै पनि पुस्तकमा समेटिएका सबै आयामहरुको समिक्षा गरेर त कहिल्यै सकिँदैन तर पढिसकेपछि केही न केही भने लेखौ लेखौ लाग्यो र अन्त्यमा के भन्न मन लाग्यो कि, पुस्तकको धेरै कुरा यसरी नभनेको भए पनि हुन्थ्यो, पाठकको भाग खोसेजस्तो लाग्यो, त्यसैले तपाईलाई नै पुस्तक पढ्नका लागि छाडे है त
धन्यवाद !!!
समिक्षक- शिशिर भण्डारी Email: Bhandarishishir333@gmail.com
Twitter: @bhandariccr Facebook: Shishir Bhandari