पछिल्लो समय आँफ्नै नजिकका साथीहरूको विचारलाई नियाल्ने मौका पाए । अधिकांशको विचार मिश्रित नै भेटे ।
केही साथीहरु अझै पनि व्यक्तिवादी पक्षपोषणमा नै रमाइरहेको पाए, केही साथीहरु व्यवस्थाको दिगोपन प्रति लगाव रहेको तर आन्तरिक रुपमा चैं व्यक्तिवादी पक्षपोषणमा रमाइरहेको एउटा अनौठो अघुलित अनुहार पनि देखें ।
विचार भनेको न पक्षमा हुन्छ, न त विपक्षमा नै।
विचार भनेको पाठकको लागि, अझ भनौ तपाईँको लागि नै, सहि अथवा गलत मार्गदर्शनको लागि प्रस्तान बिन्दु बनिदिन्छ ।
विचारको डेलिभरी कुन हिसाबमा हुन्छ र ग्रहण गर्नेको मनस्थितिमा जतिसम्म भूगोल बनेको हुन्छ, त्यही भूगोल भित्र रहेर मात्र उसले विचारको ग्रहण, सकेसम्म, आफु अनुकुल हुनेगरि गर्ने प्रयत्न गर्दछ।
वर्तमान समयमा उभिएर हेर्दा,"पार्टीहरु गलत छन्, पार्टीहरुले आवश्यकताअनुसारको डेलिभरी दिन सकिरहेका छैनन्, भन्नु स्वाभाविक देखिन्छ/देखिएला" तर
"पार्टीहरु गलत हुन्छन्, पार्टीहरूको संगठित अनि अनुशासित नेतृत्वले आवश्यकताअनुसारको डेलिभरी दिन सक्दैन" भनेर यदि कसैले भन्छ भने, त्यो भाष्य चाहिँ गलत हुन पनि सक्दछ।
अहिले देशमा देखिरहेको विरोधको गुन्जन र हस्तक्षेपको भाषालाई हेर्दा, माथि उल्लेखित दुई भास्य मध्ये पहिलो भाष्यमा अधिकांश जनताको मत हो कि दोस्रो भाष्यमा अधिकांश जनता को मत हो, त्यो भने किटान गरेर ठ्याक्कै भन्न नसकिने समयको बिन्दुमा हामी रहेको देखिन्छ।
पछिल्लो समयको अवस्था हेर्दा उच्चतम तहसम्म, अझ भनौं, निकै संवेदनशील स्थानसम्म पनि एउटा संगठित समूहले खासै प्रभाव पार्न नसकेको भन्ने भास्य निकै ज्वलन्त हुँदै गइरहेको र यो भास्य संग धेरै मात्रामा सहमत पनि हुन सक्ने ठाउँ रहेकोले वर्तमान परिस्थितिमा रहेर हेर्दा, यो सम्मको भास्य, निर्माण हुनु लाई स्वाभाविक रूपले नै हेर्न सकिन्छ तर निकट समयमा यो भाष्य लाई कमजोर बनाउनुको कुनै बिकल्प छैन ।
र यो भाष्यलाई कमजोर बनाउने भनेको पनि, हामी सङ्ग उपलब्ध भएकामध्ये कुनै एक, अनुशासित र सङ्गठित, लक्ष्य केन्द्रित समूहले नै बनाउने हो। अन्त्यमा, जुनसुकै पद्दति अनि व्यवस्था बलियो बनाउने भनेको एकल व्यक्तिले होईन की, सङ्गठित एबम् एकीकृत समूहले नै हो ।
यति भन्दै गर्दा व्यक्तिवादी पक्षपोषण गर्नुहुने हरुमा आघात नपुगोस्, किनकि मैले माथि भनिसकेको छु, "विचार भनेको न पक्षमा हुन्छ, न त विपक्षमा नै" ।